काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा मंगलबार बिहान पुगेर अध्यक्ष नेपालले नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
त्यस्तै अध्यक्ष नेपालले आफूसँग लामो राजनीतिक सहकार्य गरेका नेम्वाङको निधनले आफूलाई स्तब्ध भएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले लेखेका छन्, संविधानसभाका अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष, प्रतिनिधिसभाका सदस्य एवम् मसँग लामो राजनीतिक सहकार्य गर्नभएका कमरेड सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनायो ।
एक निडर र इमान्दार राजनीतिकर्मीका रूपमा रूपमा विद्यार्थी राजनीति हुँदै कोअर्डिनेशन केन्द्र, नेकपा (माले) र नेकपा (एमाले) पार्टी निर्माण एवम् विस्तारमा उनले लिएको पहलकदमी, खेलेको भूमिका, दिएको योगदान, नेतृत्व र समन्वयका अनेकन पहलहरू आफ्नो मानसपटलमा ताजै रहेको नेपालले उल्लेख गरेका छन् ।