काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनगढीले जिल्लाका दुई अस्पताल बन्द गर्न निर्देशन दिएको छ । यसमा केही दिनअघि पत्थरीको अप्रेसन गर्दा बिरामीको मृत्यु भएको स्वस्तिक अस्पताल पनि रहेको छ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी नेतृत्वको अनुगमन मंगलबार धनगढीमा रहेका तीन अस्पतालको अनुगमन गरेको थियो। जसमा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालसहित संजीवनी अस्पताल र सौभाग्य अस्पताल रहेका छन्।
सौभाग्य अस्पताल नियमअनुसार चलेको पाइएपनि स्वस्तिक र संजीवनी अस्पताल अनुमतिबिना नै सञ्चालनमा रहेको पाइएकाले बन्द गर्न निर्देशन दिइएको सहायक सीडीओ जोशीले बताए। निर्देशन नमाने जिल्ला प्रशासन कार्यालयले सिल गर्ने सहायक सीडीओ जोशीले चेतावनी दिएका छन् ।
स्वस्तिक अस्पतालमा गत भदौ ९ गते मिर्गौलाको पत्थरी निकाल्न शल्यक्रिया गराएका कञ्चनपुरको बेलौरी नगरपालिका–१० का ५५ वर्षीय ऐजनलाल चौधरीको ११ गते राति मृत्यु भएको थियो । घटनापछि बुझ्दा स्वस्तिक अस्तपालले सञ्चालनको अनुमति नै पाइनसकेको खुल्न आएको थियो ।