काठमाडौं । पछिल्लो समय आयुर्वेदतर्फ नागरिकको विश्वास बढेको पाइएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति जनताको आकर्षण बढ्दै गएको हो ।
कावासोती २ का ७७ वर्षीय नियमकान्त घिमिरे बाथको रोगी छन्। लामो समयदेखि बाथबाट ग्रसित उनको उपचारको लागि धेरै ठाउँमा पुगे तर निको नभएपछि आयुर्वेदिक औषधालयमा आउने गरेको बताए उनले भने, “छिटो निको होला भनेर एलोपेथिक औषधिको प्रयोग धेरै गरे तर सन्चो भएन । अहिले आयुर्वेदिक औषधालयमा आएर मिश्रणयुक्त जडीबुटीको औषधि खाने र सेकाउने गरेको छु, पहिलेभन्दा अहिले ठिक भएको छ ।”
कावासोती ७ का लिलाधर पोख्रेललाई मधुमेह भएको १९ वर्ष भयो । उनी पनि एलोपेथिक औषधिसँगै आयुर्वेद औषधिको प्रयोग गर्ने गरेको बताउछन् । एलोपेथिकमा जस्तो धेरैतिर धाउनुपर्ने, लाइन बस्नुपर्ने, रोग अनुसारका चिकित्सक भेट्न समय लिनुपर्ने झन्झटले गर्दा पनि अहिले आयुर्वेदिक उपचारप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको उनको भनाइ छ ।
देवचुलीका शान्ता शर्मालाई आयुर्वेदक औषधिले निको हुन्छ भन्नेमा विश्वास नै लागेको थिएन । ढाडको समस्या रहेको उनलाई जब आयुर्वेदिक औषधालयमा सेवा लिए त्यसपछि यो सेवाप्रति विश्वास बढ्दै गएको उनको भनाइ छ । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने जडीबुटीजन्य औषधि आयुर्वेदिक स्वास्थ्य केन्द्रमा निःशुल्क पाइने र प्रभावकारी पनि देखिएकाले आयुर्वेदिक सेवाबाट सबैले लाभ लिनुपर्ने बताउछन् ।