काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताएका छन्।
नेपाल चिकित्सक संघको आज ज्ञापनपत्र बुझ्दै उनले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको संघका उपाध्यक्ष डा. प्रकाश बुढाथोकीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले सार्वजनिकस्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई जो कोहीलाई उन्मुक्ति नदिने बताएको उनले जानकारी दिए ।
संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको हो । उक्त ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानूनी कारबाही गर्न माग गरिएको छ ।
यही भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला सांघातिक आक्रमण गरिएको थियो। उक्त घटेको घटनाको विषयलाई लिएर आज प्रधानमन्त्री दाहालसँग संघको टोलीले भेट गरेको थियो।
संघले नियमितरुपमा उपचार प्रक्रियालाई इमान्दारितापूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा बिरामीलाई पठाइएको र बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई पहिचान गरी कानूनी दायरामा ल्याउन माग गरेको छ।