चितवन। रोटरी क्लब अफ रत्ननगरले शुक्रबार पूर्वी चितवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा चार सय १४ जनाले रगत प्रदान गरेका छन् ।
रक्तदातामध्ये तीन सय ५२ पुरुष र ६२ जना महिला रहेका छन् । तीमध्ये दुई सय ३९ जना नयाँ रक्तदाता हुन् ।
न्यू क्यापिटल कलेज रत्ननगरको प्राङ्गणमा आयोजित कार्यक्रमलाई रोट–याक्ट क्लब अफ रत्ननगर, इन्ट–याक्ट क्लब अफ स्काइराइडर, स्पाउस क्लब अफ रत्ननगर र इन्ट–याक्ट क्लब अफ न्यू क्यापिटल कलेजले सहयोग गरेका थिए ।
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । गर्मी मौसममा रगतको कम भइरहेको अवस्थामा भएको ठूलो रक्तदान कार्यक्रमले धेरै बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ ।