म्याग्दी, असोज ४ गते । मुस्ताङ जिल्लाको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई लेक लागेमा त्यहीँ नै उपचार गर्ने व्यवस्था गरिएको छ।
हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१, मुक्तिनाथ मन्दिरमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ (मुक्तिनाथ स्वास्थ्य सेवाश्रम अस्पताल) स्थापना भएपछि भक्तजनलाई सहज भएको छ। मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकलाई समस्या भएमा आकस्मिक उपचार गर्न सहज भएको छ। गत पुस महिनादेखि मुक्तिनाथ मन्दिरमा सेवाश्रम स्थापना गरिएको हो।
मुक्तिनाथमा दर्शनका लागि हरेक वर्ष लाखौँको सङ्ख्यामा धार्मिक पर्यटक आउने गरेका छन्। मुक्तिनाथ मन्दिर तीन हजार आठ सय मिटरभन्दा धेरै उचाइमा छ। मुक्तिनाथमा दर्शनका लागि आउँदा कति लेक लागेर बिरामी हुने र कतिपयको मृत्युसमेत हुने गरेको छ।
हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर (मुक्तिनाथ स्वास्थ्य सेवाश्रम) स्थापनाका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र मुस्ताङ अस्पतालले संयुक्त रूपमा पहल गरेका थिए।