काठमाडौं । अस्पतालमा जन्मिएका शिशुलाई बाबुको योजनामा बिक्री गरिएको घटनामा मोरङ प्रहरीले अस्पतालका संचालक पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-९ स्थित ग्रिनक्रस हस्पिटलका सञ्चालक ५० वर्षीय कृष्ण खवास रहेका छन् । नवजात शिशु बिक्री गरेको घटनामा संलग्नता भेटिएपछि अनुसन्धानका लागि खवासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
खवासलाई आइतबार नै पक्राउ गरेपछि आज मात्र विवरण सार्वजनिक गरेको हो । खवासमाथि संस्थागत त्रुटी गरेको आरोप लगाइएको छ । योसँगै प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ । प्रकरणमा यसअघि शिशुका बाबु गोविन्द राई, सोही अस्पतालमा चिकित्सक डा. तपेश्वरलाल कर्ण, नर्स निर्मला यादव, अस्पतालकी कर्मचारी सुधा राजवंशी, शिशु लैजान पैसा तिर्ने सुर्यनारायण राजवंशी, उनका श्रीमती दिलमाया राजवंशी र आमा मनमाया राजवंशीलाई पक्राउ परिसकेका छन् ।