काठमाडौं । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् ।
मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बुधबार माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन् ।
स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर बिरोध जनाएका हुन् । स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन् ।
आन्दोलित चिकित्सकहरुले विदेश पलायन हुन बाध्य नपार, हामी स्वास्थ्यकर्मी एक हौँ, आज डाक्टर कुट्ने भोलि बिरामी भए कहाँ जाने ?, असुरक्षा र त्रासमा उपचार कसरी गर्ने ?, कामेको हातले उपचार सम्भव छैन, सेतो कोट रातो भए समाज नै कालो हुन्छ, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।
यस्तै मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर बुधबार पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।