काठमाडौं । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् ।
चिकित्सक तथा स्वास्थ्यकर्मी माथि श्रंखलाबद्ध रुपमा आक्रमण गर्ने कार्यको वीरगञ्जमा समेत विरोध भएको छ ।
राष्ट्रिय चिकित्सक महासंघ महाराजगंजको आहवानमा वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आज विरोध प्रदर्शन गरेका छन् । पछिल्लो समय काठमाण्डौँ, मकावनपुरलगायत मुलुकका विभिन्न अस्पतालहरुमा चिकित्सक कुट्ने तथा अभद्र व्यवहार गर्ने कार्य बढ्दै हुँदा सोको विरोधमा उनीहरु सडकमा उत्रिएका हुन् ।
अस्पतालका चिकित्सकहरुले विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिरामीको ज्यान बचाउने चिकित्सकहरुमाथि नै आक्रमण गर्ने कार्य निन्दनीय रहेको र दोषी माथि कारवाही हुनुपर्ने बताए । उनले स्वास्थ्यसंस्था जस्तो संवेदनशील क्षेत्रमा कसैले कुनै किसिमको उछृंखल गतिविधि गरेमा आफूहरु जानकारी दिन आग्रह गरे ।