काठमाडौं। हाड जोर्नी तथा नसा रोग विशेषज्ञद्वय डा. प्रमोद लामिछाने र डा. अनिल भट्टराईद्वारा लिखित पुस्तक ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ सार्वजनिक भएको छ । पुस्तक गत असार २४ गते सार्वजनिक भएको हो । हार्ड जोर्नी तथा नसा रोग विशेषज्ञका रुपमा डाक्टरद्वय लामिछाने र भट्टराई अलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा कार्यरत छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फन डा. भट्टराईले आफूले गरेको उपचार, अप्रेसन र अनुभवका आधारमा नेपालमा पहिलोपटक हाडजोर्नी तथा नसा रोगसम्बन्धी किताब प्रकाशनमा ल्याएको बताए ।
उक्त पुस्तकमा हाडजोर्नी उपचारका सम्बन्धमा नयाँ विधि र सिद्धान्त उल्लेख गरिएको उनले बताए । डा. लामिछानेले उक्त पुस्तक नितान्त अनुभवको आधारमा लेखिएको भएर सबैले मान्नुपर्छ भन्ने बाध्यता नरहेको बताए । भविष्यमा यो पुस्तकमा उल्लेख भएका कुराहरु सिद्धान्तको रूपमा स्थापित हुने उनको दाबी छ ।