काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालका एकजना डाक्टरमाथि कुटपिट भएपछि त्यहाँ कार्यरत सबै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।
आज दिउँसो करिब १ बजे ओपिडीमा आएका एक बिरामीका आफन्तले डा. मनिष खड्कामाथि कुटपिट गरेपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सकहरू अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका हुन्।
उनीहरू अहिले अस्पताल परिसरमै नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।
नेफ्रोलोजीको ओपीडीमा बिरामी लिएर आएका ३–४ जनाको समूहले डाक्टरमाथि कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ। भीड बढी भयो एकछिन बाहिर जानूस् भन्दा डाक्टरमाथि आक्रमण भएको पाइएको छ।
त्यस्तै अस्पतालका डाक्टरमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौं चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी घर भई सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम छन्।
यसअघि हेटौंडाको सञ्चो अस्पताल, पोखराको मणिपाल अस्पताल, लमजुङ जिल्ला अस्पताल, चितवनको माडी अस्पतालमा डाक्टर कुटिएका थिए। त्यसको विरोधमा डाक्टरहरू आन्दोलित भएका थिए।