दाङको तुलसीपुरमा डेरा भाडामा बस्ने एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।
सल्यानको त्रिवेणी गाउँपालिका–४ फालाबाङ घर भई अहिले दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा कोठा भाडामा बस्दै आएका अन्जादी २५ वर्षीय सुशील भण्डारी र उनकी अन्दाजी २१ वर्षीय श्रीमती पवित्रा डाँगी भण्डारी कोठाभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
उनीहरूबीच केही समयअघि मात्रै विवाह भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
शनिवार बिहान १० बजेको समयमा ढोका बन्द गरेको अवस्थामा कोठा भित्रै मृत फेला परेका हुन् । श्रीमान् पंखामा झुन्डिएको अवस्थामा र श्रीमती खाटमा मृत फेला परेकी छिन् । अबेरसम्म पनि नउठेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार पवित्राको शरीरमा चोट देखिए पनि धारिलो हतियार भने प्रयोग नभएको पाइएको छ । मृतकहरूको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।