ओखलढुङ्गा, असोज २१ गते । ओखलढुङ्गा सामुदायिक अस्पताल (मिसन)मा उपचारको क्रममा ५३ दिने शिशुको ज्यान गएपछि शनिवार दिनभर अस्पतालमा तनाव उत्पन्न भयो । शिशुका आफन्तले अस्पताल र चिकित्सकको लापरबाहीले ज्यान गएको बताउँदै विरोध जनाए । आफन्तले शिशुको शव बुझ्न अस्वीकार गरे ।
मृतकका आफन्तले अस्पतालको निर्देशकले तुरुन्तै राजीनामा दिनुपर्ने, आकस्मिक कक्षमा कार्यरत चिकित्सकहरूमाथि छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने, अस्पतालले लिखित क्षमायाचना गर्नुपर्ने लगायतका माग राखेर विरोध जनाएका थिए । यस प्रकरणमा उक्त समयमा आकस्मिक कक्षमा कार्यरत हेल्थ असिस्टेन्ट प्रकाश कटुवाललाई ४८ घण्टे लिखित स्पष्टीकरण सोधिएको छ ।
अस्पतालका डा.जोन प्याजेटको संयोजकत्वमा चार सदस्यीय आन्तरिक छानबिन व्यवस्थापन समितिको गठन गरी कटुवाल सँग लिखित स्पष्टीकरण मागेको छ । सिद्धिचरण नगरपालिका–५ का डोम प्रसाद दाहालकी ५३ दिनकी छोरी रियाना दाहालको उपचारका क्रममा शुक्रवार राती ९ः४५ बजे अस्पतालमा ज्यान गएको थियो । पिसाब रोकिएर सिकिस्त बिरामी भएपछि शुक्रवार आफन्तले बालिकालाई ओखलढुङ्गा सामुदायिक अस्पताल (मिसन)को इमर्जेन्सी कक्षमा पुर्याएका थिए ।
बालिकालाई उपचारका लागि समयमै अस्पताल ल्याइएको भए पनि अस्पतालको लापरबाहीका कारण ज्यान गएको आफन्तको भनाइ छ ।