काठमाडौं । मधेश प्रदेशको जनकपुरधामा अवस्थित जानकी मेडिकल कलेजले सुरक्षित मातृत्व र जीवनलाई सुखमय बनाउन ‘आमा तथा शिशु सुरक्षा कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।
गत आ.व. २०७९/८० मा सरकारले नै आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका संशोधन गरेपछि देशभरीका ठूला अस्पतालहरूले यो कार्यक्रम सञ्चालनमा ल्याईरहेका छन् ।
आमा तथा शिशु सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती महिलाले अस्पतालमा सबै खालका सेवा निःशुल्क पाउने व्यवस्था मिलाईएको अस्पतालले जनाएको छ । यस्तै, अस्पतालमा सुत्केरी हुन आएको महिलालाई यातायात खर्च, गर्भवती जाँचको खर्च समेत पाउने व्यवस्था रहेको छ ।
आमा सुरक्षा कार्यक्रम सञ्चालन नहुँदा सुत्केरी महिलाले अस्पतालमा सुत्केरी खर्चबापत चर्को मूल्य तिर्न बाध्य भएका थिए । यस कार्यक्रम संचालनसँग सुत्केरी महिलाले सामान्य उपचारदेखि लिएर गम्भीर प्रकृतिको उपचारसमेत निःशुल्क गराउन पाउने भएको छ ।
आमा तथा शिशु सुरक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने जानकी मेडिकल कलजेले जनाएको छ । यो कार्यक्रम अस्पतालमा लागू भएपछि घरमै सुत्केरी हुने महिलाको संख्यामा कमी आउनुका साथै गर्भवती र शिशुको मृत्युदरमा कमी आउनेमा जानकी मेडिकल कलेज बिश्वस्थ रहेको कलेजको ब्यवस्थापनले जानकारी दिएका छन् ।