काठमाडौं । मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा लगिएको छ ।उनलाई श्री एअरलाइन्सको जहाजमार्फत मध्यराती भारत लगिएको ह्याम्स अस्पतालले जनाएको छ ।
ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलि जंग शाहीले ‘मेडिकल स्कर्टिङ’ गरी पाइलट सेढाईलाई नेशनल बर्न सेन्टर पुर्याएका हुन् । चार्टर्ड जहाज शनिबार बेलुकी ९:२० बजे मुम्बईको लागि उडेको थियो ।
आज बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरि बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी डा. इन्चार्ज निशान्त ढकालले जानकारी दिए ।