काठमाडौँ- नेपाल भाषा एकेडेमीका पूर्व चान्सलर पनि रहेका नेपालीको ९४ वर्षको उमेरमा निधन भएको हो । उनको चाबहिलको ओम अस्पतालमा उपचार भइरहेको थियो । उनको वास्तविक नाम भने नारायणप्रसाद राजभण्डारी हो । साहित्यकार पनि रहेका नेपालीले लेखनमा आफ्नो वास्तविक नाम भने प्रयोग गरेनन् ।
नेपाली २०१३ मा पहिलो पटक मदन पुरस्कार विजेता पनि हुन् । उनलाई ०१५ सालको श्रेष्ठ सिरपाः पनि प्रदान गरिएको थियो । ‘जनरल भीमसेन थापा र तात्कालीन नेपाल’ का लागि उनलाई यो पुस्कार दिइएको थियो । यस्तै उनको अर्को कृति ‘श्री ५ रणबहादुर शाह’ छ । नेपालको परराष्ट्र सम्बन्धबारे पनि गहन अध्ययन गरेका नेपालीले नेपाल-चीन सिमाना सन्धिबारे पनि पुस्तक लेखेका छन् ।
‘नेपालमा इतिहास लेखनमा चित्तरञ्जन नेपालीको अनुपम योगदान छ । भीमसेन थापा र रणबहादुर शाहबारे उनका दुई पुस्तक सर्वाधिक महत्त्वपूर्ण छन्,’ इतिहासकार शंकर थापाले बताए । यस्तै नेपाल भाषामा पनि उनको केही मौलिक कृति छन् र उनले नै चर्चित ‘गंकी’ उपन्यास नेपालीमा अनुवाद गरेका थिए ।
‘नेपाल भाषा साहित्यमा चित्तरञ्जन नेपालीको उत्तिकै योगदान छ । विशेषतः नेपाल भाषा एकेडेमीका चान्सलरका रूपमा उनले भाषा र साहित्यका लागि धेरै काम गरे,’ पत्रकार सुरेश मानन्धरले भने । नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य पनि रहे । यस्तै निर्वाचन आयुक्तका रूपमा ०५१ देखि दुई वर्ष काम पनि गरे ।