काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ । सो कार्यक्रम अन्तर्गत महानगरले अब सुत्केरी खर्च वितरण गर्ने भएको महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव नहोस्, भन्ने उद्धेश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।महानगरले १० हजारसम्म सुत्केरी खर्च दिने घोषाणा गरेको छ । तर, यो रकम पाउनका लागि भने महानगरले तोकेको मापदण्ड भित्र पर्नुपर्ने छ ।यो सुविधा लिन चाहनेहरुले वडा कार्यालय वा काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन एकाइमा सम्पर्क राख्न सक्नेछन् ।
शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी महानगर (स्वर्णिम योजना) अन्तर्गत १० हजार सहयोग गर्ने छ ।
यस्तै ४२ दिन भित्रको सुत्केरी, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको सुत्केरीलाई भने महानगरले ७ हजार ५ सय सुत्केरी खर्च उपलब्ध गराइने छ ।