काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा संख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५३ मध्ये ७८ बालबालिका रहेका छन् ।
जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । उनकाअनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झण्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा मृत्यु भएका एक सय पाँचमध्ये बालक २७ र बालिका २३ जना रहेका रोकाले जनाए ।
रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिका रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए । उनले भने, ‘रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएकामध्ये अधिकांश बालबालिका छन् । १० महिनाका दुई बालबालिकालेसमेत ज्यान गुमाएका छन् ।’
मृत्यु हुनेमा महिला धेरै
भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाजरकोटमा मृत्यु भएका एक सय पाँचमध्ये ३३ जना महिला र १८ जना पुरुषको मृत्यु भएको जाजरकोटका प्रनाउ रोकाले जानकारी दिए । रुकुम पश्चिममा १६ महिला र आठ जना पुरुषको मृत्यु भएको छ ।
बेला बेलामा हुने यस्ता विपद्मा महिला बालबालिका र ज्येष्ठ नागरिकसँगै अपाङ्गता भएका व्यक्ति धेरै समस्यामा पर्ने गरेका छन् ।
अपाङ्गता भएका व्यक्ति धेरै समस्यामा पर्ने गरेका छन् ।