काठमाडौँ ।ललितपुरको पाटन अस्पतालमा दुई बिरामीको एकैचोटी शंकास्पद मृत्यु भएको छ । उपचारमा संलग्न एक नर्सले इन्जेक्सनबाट औषधि दिएलगत्तै दुबै बिरामीको आज साँझ मृत्यु भएको बताइएको छ । सामान्य ज्वरो आएपछि उपचारार्थ भर्ना गरिएका मकवानपुरका कृष्णबहादुर नगरकोटी र दमको उपचारलाई गएकी ओखलढुंगाकी जनमाया राईको इञ्जेक्सन दिएको पाँच मिनेटमा मृत्यु भएपछि अस्पतालमा लफडा भएको छ । मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण बिरामीको निधन भएको आरोप लगाएका छन् ।
गलत औषधिका कारण बिरामीको मृत्यु भएको आरोप आफन्तले लगाएपछि नगरकोटीको शव पोस्टमार्टम गर्न लागिएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए । पोस्टमार्टमका लागि नगरकोटीको शव शिक्षण अस्पताल पठाइएको छ । आफन्तले मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टमको लागि निवेदन दिएकाले शव शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले आवासकीय चिकित्सकमाथि हातपात समेत गरेका थिए । उपचारकै क्रममा शनिबार दिउँसो ड्युटीमा रहेका नर्सले सुई मार्फत उनीहरुलाई एन्टिबायोटिक औषधि चलाएका थिए । अस्पतालका अनुसार नगरकोटी र राईलाई सेफ्ट्रियाक्सोन औषधि चलाइएको थियो । औषधि चलाएको पाँच मिनेटमै दुवै बिरामीको मृत्यु भएको थियो