काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ ।
आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।
घाइतेहरुलाई चौरजहारी अस्पताल लगिएको छ । जिप तीव्र गतिमा रहेको तथा ओभर लोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।