काठमाडौँ । इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका–९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामाको आइतबार र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको सोमबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो । भने १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो ।
धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो । बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए । जसमध्ये तीनको मत्यु भइसकेको छ भने ३३ जनाको हाल विएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको छ । उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ। बसका चालक ४५ वर्षीय हरिकिन राउतको अवस्था सामान्य रहेकोले उनलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ ।