काठमाडौं। रुकुम पश्चिममा भूकम्पको कारण मृत्यु भएकाका सबै परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको छ ।
भूकम्पको कारण मृत्यु भएका ५३ जनाको परिवारलाई राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिएका छन। उनका अनुसार मृतकका परिवारलाई दुई लाखको दरले राहत उपलब्ध गराएको हो । एकाघरका एकभन्दा बढीको मृत्यु भएको हकमा भने एक जनालाई दुई लाख र अन्य मृतकलाई सङ्ख्याको आधारमा एक एक लाख गरेर उपलब्ध गराइएको हो ।
मृतकका परिवारहरूले प्राप्त गर्ने राहतको लागि भने आवश्यक कागजपत्र सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गरिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले कार्यालयमा, मृतक परिवारको घरमा, पायक पर्ने वडा कार्यालयमा पुगेर राहत वितरण गरेको हो ।