काठमाडौँ। कुशे गाउँपालिकामा चिसोका कारण एक बालिकाको मृत्यु भएको छ। कुशेका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिया देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको निधन भएको जानकारी दिए। उनका अनुसार भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो।
भूकम्पमा परि १५३ जनाको मृत्यु र ३४६ जना घाइते भएका थिए। भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्ण रुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको जनाइएको छ। क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा पुगेको जनाइएको छ।