काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौं महानगर क्षेत्रभित्र संचालित औषधि पसलहरु व्यवस्थित बनाउन योजनाबद्ध कदम चालेको छ । जसअनुसार महानगरमा संचालित औषधि पसलहरुलाई मापदण्डबमोजिम सञ्चालन गर्न १० दिने सूचना जारी गरिएको छ । जनस्वास्थ्यसँग सरोकार राख्ने विषयमा कसैले पनि हेलचक्राई गर्न हुने र गरेको पाएमा कारवाही गर्ने महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरभित्र मापदण्ड उल्लंघन गरि औषधी पसल सञ्चालनमा आइरहेको जनगुनासो बढ्न थालेपछि यसको नियन्त्रण एवंम नियमनकालागि काठमाडौं महानगरले चरणबद्ध योजना बनाएको छ ।
मानव स्वास्थ्यसंग जोडिएको औषधिजन्य पर्दाथ विक्रि केन्द्र नै मापदण्ड विपरित संचालमा आउँदा मानव स्वास्थ्यमा जोखिम बढाएपछि यसको नियमनमा महानगरले कडा गर्ने भएको हो । महानगरको स्वास्थ्य विभागले पनि मापदण्ड बिपरित संचालित औषधि पसलका कारण आफूखुसी औषधि किनेर खानेको संख्या बढेको बताएको छ ।
औषधिको प्रयोग सही ढङ्गबाट गरेको अवस्थामा औषधिले रोग निको पार्ने काम गर्छ । तर औषधिको प्रयोग जथाभावी रुपमा गर्दा तथा कमसल र मिति गुज्रेका औषधि सेवन मानव स्वास्थ्यका लागि निकै हानीकारक हुन्छ । तर, महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसलहरुमा अनधिकृत व्यक्तिहरुबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको गुनासो बढेको छ ।
यसरी मानव स्वास्थ्यमा जोखिम आउने देखिएपछि महानगरले मापदण्डबमोजिम संचालन गर्न १० दिने सूचना समेत जारी गरेको छ । सूचना जारी पछि पनि मापदण्ड बिपरित संचलानमा आएका औषधि पसल पाएमा कारवाहिको प्रकृया अगाडी बढाइने छ ।
