काठमाडौं । चिसो बढेसँगै बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढेको छ। एक्कासी चिसो बढेपछि उपचारका लागि दैनिकजसो सरदर ३०–४० जना श्वासप्रश्वासका बिरामी अस्पताल आउने गरेको बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारी बताए।
डा अधिकारीका अनुसार अहिलेका बिरामीमा श्वासप्रश्वास र हाडजोर्नी दुख्ने समस्याका बढी भेटिएका छ । खासमा बढ्दो चिसोमा आवश्यक सावधानी र सम्भार नअपनाइँदा बिरामी बढ्ने गरेका हुन् । यस्ता बिरामीमा ग्रामीण बस्तीका वृद्धवृद्धा र महिला बढी रहेका जनाइए ।
चिसो बढेसँगै धुलो र धुँवाका कारण बढेको स्वास्थ्य समस्या आहारव्यवहारबाट नियन्त्रण गर्न सकिने चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ । स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झालेका अनुसार घरबाट निस्कनासाथ जताततै धुलो उडिरहेको देखिन्छ, तर आम नागरिक मास्क लगाउने गर्दैनन् । यसले गर्दा श्वासप्रश्वाससँगै जटिल स्वास्थ्य समस्या बढ्ने गर्छन् । आहार, निद्रा, आन्तरिक र बाह्य सरसफाइ, श्रम तथा मौसमअनुसार लवाइ सन्तुलित गरे हम्मेसी कुनै स्वास्थ्य समस्या नआउने उनको भनाइ छ ।
मौसमअनुसार खानपान अन्य आहारव्यहारमा ध्यान नदिँदा श्वासप्रश्वास, हाडजोर्नी दुख्ने र आँखाका बिरामी बढेका अस्पतालका मेडिकल अधिकृत डा चन्द्रमणि खत्री बताए । जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर जिल्ला अस्पताल, गौशाला र सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र जिल्लाका १५ वटै स्थानीय तहमा रहेका स्वास्थ्यचौकी र अन्य निजीस्तरमा सञ्चालित अस्पतालमा पनि श्वासप्रश्वास र आँखाका बिरामी आउने क्रम बढेको छ ।