काठमाडौं। कञ्चनपुरको जिल्ला प्रहरी कार्यालयमा रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक बिनु शाही दिनहुँ घरेलु तथा लैङ्गिक हिंसाका उजुरी हेर्दै व्यस्त छन ।
महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा जिल्लामा दातृ निकाय एवं सरोकारवाल निकायले सचेतनामूलक कार्यक्रम, गोष्ठी गरिरहँदा जिल्ला प्रहरी कार्यालय महिला सेलमा भने हिंसाका उजुरी नआएको दिन छैन ।
दिनहुँ आइरहेका घटनामा घरेलु हिंसामा कुटपिट र लैङ्गिक हिंसा, महिला तथा पुरुषहरू बाहिर सम्बन्ध राखेका, सामाजिक सञ्जालमार्फत अन्यत्र सम्बन्ध रहेका लगायतका घटना आएको उनले बताए अभियानकै दिन घरेलु हिंसाका पाँच र लैङ्गिक हिंसाका तीन उजुरी परेका थिए ।
उजुरी परेकामध्ये पाँचवटा मिलापत्र र तीनवटामा कारबाही गरिएको उनले बताए । घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिने गरेको छ । “पारिवारिक सम्बन्ध बिग्रिने कुराले पनि परिवारका सदस्य यहाँ आएर मिलापत्रमै उजुरी टुङ्ग्याउन चाहन्छन्”, उनको भनाई छ । कतिपय अवस्थामा जोहेरवालाको मागअनुसार कारबाही प्रक्रिया पनि अघि बढेको बताए। युवा पुस्तामा साइबर क्राइमका मुद्दा बढिरहेको उनले जानकारि दिए ।
त्यसैगरी माइती नेपाल कञ्चनपुरमा कार्यरत कर्मचारी गीता डगौंराले महिला हिंसा उजुरी अभियानका क्रममा पनि नरोकिएको बताईन । माइती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकामा १६ दिने अभियानका क्रममा सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरेको छ । महाकाली नदीमा अवस्थित चार लेनको पक्की पुल क्षेत्रमा आयोजना गरिएको सचेनामूलक कार्यक्रममा दोधारा चादँनीका जनप्रतिनिधि र सुरक्षा निकयको उपस्थिति थियो ।