काठमाडौं। बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी दिएका छन्।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिएका छन ।
उनका अनुसार पुरुषको तर्फबाट पनि हिंसामा परेको उजुरी आइरहेका छन्। तर पुरुषले दिने उजुरीको तुलनामा महिलाको सङ्ख्या अत्यधिक छ ।अधिकांश हिंसामा परेको उजुरी महिलाको तर्फबाट आउने गरेपनि कतिपय अवस्थामा पुरुषको तर्फबाट पनि उजुरी आइरहेको उनले बताइन । घटना हेरि हामीले आवश्यक कारबाही गरिरहेका छौँ उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार बाँकेमा पछिल्लो तीन वर्षमा घरेलु हिंसाका दुई हजार सात सय ५० वटा उजुरी दर्ता भएका छन् । अधिकांश घटनामा महिला पीडित रहेका छन् । अहिले पुरुषले समेत आफूमाथि हिंसा भएको भन्दै उजुरी दिन थालेका छन् ।
निवेदन दिइसकेपछि कतिपय निवेदनकर्ता सम्पर्कमा आउँदैनन् । प्रतिशोध साँध्नका लागि उजुरी दिने र त्यसपछि वास्तै नगर्ने प्रवृत्तिसमेत बढ्दै गएको जानकारि दिइन । उजुरी परेपछि हिंसासँग जोडिएका घटनालाई सुक्ष्मरूपले गम्भीरतापूर्वक अनुसन्धान गर्ने गरिएको बताइन ।