काठमाडौँ। भोजपुर टेम्केमैयुङ–५ चोलन्ती र मझौलेवासी गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि स्थानीयवासी खुशि भएका छन ।
आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका स्थानीयवासीले गाउँमा स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवाका लागि तीनदेखि चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट पनि उनीहरू मुक्त भएका छन् ।
सिटामोल र जीवनजल किन्न पनि चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट मुक्त भएकामा स्थानीयवासी दङ्ग भएका छन । दुई गाउँका स्थानीयलाई लक्षित गरी यहाँ अस्थायी आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनले सेवाग्राही लाभान्वित भएका स्थानीयवासी टङ्कबहादुर विष्टले बताएका छन । स्वास्थ्य केन्द्र स्थापनाले सामान्य रुघाखोकीको औषधि लिनका लागि घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको विष्टले जानकारी दिए ।
नागरिकले भोगेको समस्यालाई ध्यानमा राख्दै मझौले र चोलन्तीलाई लक्षित गरेर अस्थायी आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताईन् । गाउँपालिकाका अन्य विकट क्षेत्रमा पनि स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रवाह थालिएको उनले बताउईन् ।