काठमाडौँ। पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका छन।
मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिकाका ३० वर्षको विष्णु ढकाल रहेको र दाङको घोराही बस्ने ३२ वर्षको यमराज पुन र रोल्पाको त्रिवेणी बस्ने हिमाल घर्ती गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका विष्णु ढकालको उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिएका छन ।
सूचना अधिकारी श्रेष्ठका अनुसार घाइतेको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । तानसेन रिडी तम्घास सडक खण्ड अन्तरगत रिब्दीकोट गाउँपालिका (२ लघुवामा कुडहर भन्ने स्थानमा रा १ ख २४०४ नम्बरको टिपर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार टिपरमा चालकसहित चार जना सवार रहेकोमा चालक बाहेक तीन जना गम्भीर घाइते भएका थिए । घाईतेहरुलाई स्थानीयको सहयोगमा उद्धार गरेर युनाइटेड मिसन अस्पताल तानसेन पठाइएको थियो ।
टिपर सडकबाट करिब १५० मिटर तल खसेको छ । टिपर चालक भने सकुशल रहेको हुँदा प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको जनाएको छ ।