काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको विकासमा विशेष जोड दिएको बताएका छन् ।
ब्याक टु लाइफ नामक संस्थाको सहयोग, सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र र मानव अधिकार तथा वातावरण विकास केन्द्रको सहकार्यमा गुर्भाकोट नगरपालिका-७, सुर्खेतस्थित मेहलकुना अस्पतालमा आज आयोजित ‘एकदिने हृदय रोग’ निःशुल्क शिविरको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले स्वस्थ समाज निर्माणमा सरकार केन्द्रित रहेको बताए ।
मानव जीवनका लागि स्वास्थ्य महत्त्वपूर्ण विषय हो। स्वस्थ नागरिक उत्पादनले समृद्ध समाज बन्छ। तल्लो तहमा स्वास्थ्य सेवा पुग्नेगरी संरचनाको निर्माण तथा विकासमा सरकारले ध्यान दिएको उनले बताए।
उनले ब्याक टु लाइफ संस्था र सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र कर्णालीका विकट जिल्लामा पुगेर मुटुरोगजस्तो संवेदनशील उपचार सेवा निःशुल्क प्रवाह गरेकामा कृतज्ञता व्यक्त गरे।
सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका डा चन्द्रमणि अधिकारीले मुटुरोगीहरूको निःशुल्क उपचार गरिने जटिल रोग देखिए केन्द्रले शल्यक्रियामा सहयोग गर्ने र मेहलकुना अस्पतालका प्रमुख डा सोजन सापकोटाले काठमाडौँ पुगेर उपचार गर्न सक्ने अवस्था नभएका मुटुरोगीहरूलाई केन्द्रले ठूलो सहयोग पुर्याएको बताए ।