काठमाडौं । ललितपुरको बालकुमारी क्षेत्रमा भएको प्रर्दशनमा एक युवकको मृत्यु भएको छ।
जुम्ला घर भइ भक्तपुर बस्दै आएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको छ। प्रर्दशनमा भएको झडपमा घाइते भएका उनको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते छन् । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै बालकुमारीमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयअगाडि गरिएको प्रदर्शनमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जहाज निर्माणसम्बन्धी कामका लागि परीक्षा दिएका तर त्यसमा उत्तीर्ण नभएकाहरूले आफूहरूलाई उत्पादनमूलक कोटामा पनि फाराम भर्न दिइनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शनरत युवाले यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनीसमेत गरेका थिए। सुरुमा उनीहरुले मन्त्रीको गाडीको हावा फुस्काएका थिए पछि तोडफोड गर्दै गाडीमा आगजनी गरेका थिए। जब प्रहरी पुगेर भिड नियन्त्रणमा लिन थाल्यो आक्रोशित समूह थप आक्रामक हुँदै आगजनीमा उत्रेका थिए।