काठमाडौं। सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण सम्पन्न नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या परेको छ।
६ बर्ष अगाडि (२०७४ कात्तिक २७ गते ) २१ करोडको लागतमा दुई तले नवजात र मातृ शिशु विस्तारित भवन निर्माण गर्न काठमाडौँको रविना थेगिम जेभीले अस्पतालसँग ठेक्का सम्झौता गरेको थियो। ३० महिनामा निर्माण सम्पन्न गरी भवन सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्ने उल्लेख भए पनि ६ बर्ष बित्तदा पनि नयाँ भवन निर्माण सम्पन्न हुन सकेको छैन ।
ठेकेदार कम्पनीको लापर्वाहीका कारण भवन निर्माण अधुरै रहेको र हालसम्म ८० प्रतिशतमात्र काम पूरा गरेको अस्पतालले जनाएको छ। सो भवन निर्माणका लागि छैटौँ पटकसम्म म्याद थप गर्दा ठेकेदार कम्पनीले दई महिनाभित्रै भवन हस्तान्तरण गर्ने जनाएको थियो। तर सो म्याद गुज्रिदा पनि ठेकेदार कम्पनी सम्पर्कविहीन हुन खोजेको अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर शाहले जानकारी दिए।
धनगढीको मुख्य सडक विस्तारका क्रममा अस्पतालको ‘ओेपिडी’ भवन भत्किएपछि भवनको अभाव हुँदा अस्पतालले बाध्यतावश अधुरो भवनबाट ओपिडी सेवा सुरु गरेको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा। शेरबहादुर कमरले जानकारी दिए।
अस्पताल भवन हस्तान्तरण भइसकेपश्चात् आइसियु र डायलाइसिस वार्ड तथा एमआरआई मेसिन राख्न सकिने भए पनि अहिले भवन अधुरो हुँदा राख्न सक्ने अवस्था नभएको उनले बताए। बहिरि जिल्लाबाट र रिफरल बिरामी पनि उपचारका लागि आउने गरेका छन्। भवन अभावले सहजरुपमा उपचार प्रदान गर्न समस्या भइरहेको अस्पतालले जनाएको छ।