रुकुम पश्चिम – भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिममा एकलाख बढीले दादुरा-रुबेला तथा टाइफाइड विरुद्धको टि.सि.भी खोप लगाएका छन् । पुस पाँच देखि १४ गते सम्म सञ्चालन गरिएको खोप अभियानमा जिल्लाभर एकलाख ४ हजार ४ सय ९३ जनाले खोप लगाएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ६ महीना देखि १५ वर्ष मुनिका ५० हजार तीनसय ७२ र १६ वर्षदेखि ४५ वर्षका ५४ हजार एकसय २१ जनाले खोप लगाएका छन् । जसअन्तर्गत एकसय ४ प्रतिशतले दादुरा-रुबेलाको खोप लगाउँदा ७० प्रतिशतले भने टाइफाइड विरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जिल्लामा दादुरा-रुबेला खोपका लागि ४७ हजारको टार्गेट दिइएकोमा ५० हजारले खोप लगाएका हुन् । त्यस्तै ७६ हजार टाइफाइड विरुद्धको खोप टार्गेटमा ५४ हजारले मात्रै खोप लगाएको स्वास्थ्य सेवा कार्यालयको भनाइ छ ।
१६ वर्ष देखि ४६ वर्ष उमेर समूहका व्यक्तिहरु रोजगारी तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर रहेका कारण टाइफाइड विरुद्धको खोप टार्गेट अनुसार पूरा हुन नसकेको बताइएको छ ।
दादुरा-रुबेला र टाइफाइड विरुद्धको खोप अभियान जिल्लाका ६ वटै पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था र विद्यालयमा सञ्चालन गरिएको थियो ।