काठमाडौँ । तनहुँ आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ।
गाउँपालिकाले पहिलो चरणमा विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा गर्न लागेको हो। सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो नीति ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। चुमानका अनुसार पहिलो चरणमा वडा नम्बर ४, ५ र ६ मा यो कार्यक्रम लागू हुनेछ।
उनले यसले सामुदायिक विद्यालयप्रति आकर्षण बढाउने अपेक्षा गरेका छन। स्वास्थ्य बीमाका लागि पालिकाले नीति, कानुन निर्माण गरिसकेको छ। यसका लागि सम्बन्धित विद्यालयको सिफारिससहित वडाबाट विद्यार्थीको विवरण सङ्कलन, बीमा फारम, नवीकरणलाई अगाडि बढाइएको चुमानले बताए। माघभित्र ती वडाका सबै विद्यार्थी र अभिभावकको स्वास्थ्य बीमा गरिसक्ने चुमानको भनाइ छ। आवश्यकता बमोजिम आगामी वर्षमा प्राथमिकतामा आधारमा अन्य वडामा पनि यो कार्यक्रम विस्तार गर्ने लक्ष्य रहेको बताए।