काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन ।
प्रधानमन्त्री दाहालसँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीसँग आज भएको छलफलमा उनले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवा गुणस्तरीय र सुलभ हुनुपर्ने बताए ।
वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने , “बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले गुनासो गर्ने अवस्था आउनु भएन ।” वीर अस्पतालले परम्परागत तवरलेभन्दा पनि जनताले अनुभूत गर्नेगरी आफ्ना सेवा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।
कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिलाएका छन ।
छलफलमा न्याम्सका उपकुलपति डा भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउँदै वीर अस्पताललाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन ।