काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ देखि ‘सह-भुक्तानी प्रणाली’ (को-पेमेन्ट) कार्यान्वयन गर्ने भएको छ । स्वास्थ्य विमा बोर्डले स्वास्थ्य विमा ऐन, २०७४ को दफा ७ को व्यवस्थाअनुसार सह-भुक्तानी प्रणाली सम्बन्धी कार्यविधी निर्माण कार्यन्वयनमा ल्याउन लागेको हो ।
बीमा बोर्डले आज गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य विमा बोर्डले माघदेखि ‘सह-भुक्तानी प्रणाली’ लागु गर्ने अध्यक्ष गुणराज लोहनीले जानकारी दिएको हो । उक्त व्यवस्था अनुसार स्वास्थ्य सेवा उपभोग गर्दा सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने बताए।
यसअघि स्वास्थ्य विमा गरेका नागरिकलाई १ लाखसम्मको उपचार खर्च सतप्रतिशत स्वास्थ्य विमा बोर्डले उपलब्ध गराउँदैं आएको थियो । स्वास्थ्य बीमामा आवद्ध पाँच जनासम्म परिवार भएकाले बार्षिक रुपमा ३५०० रुपैयाँ प्रिमियम तिर्नु पर्दा १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था थियो । अब छुट सुविधा नपाउने समूहले सो सुविधामा १० प्रतिशत रकम आफूले तिर्नुपर्नेछ । स्वास्थ्य सेवा अन्तर्गत पर्ने औषधिमा सह-भुक्तानीको व्यवस्था लागू नहुने बीमा बोर्डले जनाएको छ।
गरिबको परिचय प्राप्त परिवार, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, अशक्त अपाङ्गताको परिचय पत्र पाएका , एचआइभी एड्स संक्रमित जटिल क्षयरोगि, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविका आदि लाई सह-भुक्तानीको व्यवस्था लागू नहुने कार्यकारी निर्देशक डा दामोदर बसौलाले बताए । दिर्घरोग भई नियमित औषधी सेवन गरिरहेका बिरामी हरुलाई हाल १/१ महिनाका लागि दिईरहेको औषधी ३/३ महिनाका लागि दिने बताए ।