काठमाडौँ । इलामको माइजोगमाई गाउँपालिकामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।
माईजोगमाई गाउँपालिका ३ गुप्तीमा रहेको एक ओडारमा शिशुलाई फेला पारिएको हो । बिहीबार साँझ बच्चा रोएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीय सडक भन्दा १ किलोमिटर मुनि डुङ्गाको ओडारमा शिशु (छोरा) फेला पारिएको छ । जन्मिएकै करिब ३/४ दिनको जस्तो देखिने बच्चा फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डिएसपी प्रकाश जवेगुले जानकारी दिए । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
स्वास्थ्य अवस्था सामान्य रहे पनि माईजोगमाई गाउँपालिकाको स्वास्थ्य शाखाबाट स्वास्थ्य परीक्षणका लागि चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरी उद्धार गरिएको गाउँपालिका उपाध्यक्ष प्रनिना राईले बताए। उनका अनुसार बच्चाको स्वास्थ्य अवस्था ठिक रहेको र एक स्थानीयको घरमा बच्चालाई ल्याएर सेक ताप गरेर राखिएको छ । नेपाल प्रहरीको सहयोगमा स्थानीयले बच्चाको उद्धार गरेको हो । बच्चा कसले र किन छोड्यो भन्ने विषयमा खोजी भइरहेको छ ।