काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिबार भएका दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे१०प ७२१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दमक–९ का २३ वर्षीय अनुप ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
ढकालको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मोरङको उर्लाबारी–१ का २१ वर्षीय प्रदीप बस्नेत घाइते भएका छन् ।
त्यस्तै कार चालक बिर्तामोड–३ का ५० वर्षीय अनिलकुमार शाह, कारमा सवार बिर्तामोड–४ का ५३ वर्षीय जयप्रकाश शाह, बिर्तामोड–३ का ४४ वर्षीय रञ्जन शाह र सोही ठाउँका ५३ वर्षीय ललित शाह घाइते भएका छन् ।