काठमाडौँ। धनुषामा सोमबार मृत भेटिएका २२ वर्षीय राधे सहनीकी श्रीमतीको पनि मृत्यु भएको छ ।
सख्त घाइते अवस्थामा फेला परेकी २० वर्षीया अस्मिता शर्माको प्रादेशिक अस्पतालमा उपचारका सोमबार राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।
महोत्तरी लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी सोमबार बिहान गहुँ खेतमा मृत फेला परेका थिए । चार महिनाअघि धारे र पकडियाकी अस्मिताबीच प्रेम विवाह भएको थियो । विवाह पश्चात दुवैजना क्षिरेश्वरनाथ नगरपालिकाकै महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।
मोटरसाइकलमा श्रीमती अस्मितलाई लिएर हिँडेका राधे बिहानी ससुराली घरबाट करिब डेढ किलोमिटरको दूरीमा मृत भेटिएका थिए ।
मोटरसाइकल दुर्घटना भएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । घाइते भएकी अस्मितलाई भने अर्को मोटरसाइकलमा रहेका तीनजना साथीले मातइतीमा पुर्याइदिएका थिए । अस्मितालाई उपचारको लागि प्रादेशिक अस्पताल पुर्याएर भर्ना गरेका थिए ।
अस्मितालाई माइत पुर्याएर भागेका तीनैजना युवकलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।