काठमाडौँ । वरिष्ठ गायक, सङ्गीतकार तथा गीतकार योगेश वैद्यको शुक्रबार बिहान ७७ वर्षको उमेरमा निधन भएको छ । उनको सुनधारास्थित काठमाडौँ न्यूरो जनरल अस्पताल गणबहालमा उपचारका क्रममा निधन भएको हो ।
बिहीबार बेलुका अचानक ज्वरो र रुघाखोकीको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । योगेश लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित थिए ।
योगेशको शवलाई आजै अस्पतालबाट पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने जानकारी पारिवारिक स्रोतले जनाएको छ ।योगेशको परिवारमा श्रीमती, एक छोरा र दुई छोरी छन ।
किरण खरेलको शब्द र नातिकाजीको सङ्गीतमा योगेशको पहिलो गीत ‘कति प्यासी छ जिन्दगी।’ रेकर्ड गराएपछि उनी साङ्गीतिक क्षेत्रमा उदाएका थिए । त्यसपछि उनले एउटा नेवारी गीत पनि गाएका थिए , ‘जीवन जिगु‘’ ।
योगेशले २०४४ सालमा गाएको गीत ‘सपना भुलाई सारा’ नेपाली गीत सङ्गीतमा कालजयी गीत मानिन्छ ।