काठमाडौँ। २९ हप्तामा जन्मिएको नवजात शिशुको नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ ।
यो शल्यक्रिया आँखा उपचारमा ऐतिहासिक सफलता हो । शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’ (आरओपी)का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसाको अविकसित अवस्थामा एलएसभी पद्धतिबाट शल्यक्रिया गरिन्छ ।
शिशुको जन्म हुँदा तौल कम रहेकोले जन्मिएपछि २८ दिनसम्म शिशुको एनआइसियूमा उपचार भएको थियो । जन्मेको ३४ दिनपछि आइसियूमा रहेकै अवस्थामा शिशुको आँखा उपचार गर्न आँखा अस्पताल ल्याइएको थियो । आँखा रोग विशेषज्ञका अनुसार आँखाको रक्त नसा विकसित नभएको अवस्था अर्थात् ‘आरओपी’ पाँच चरणका हुने गर्दछ । पहिलोदेखि दोस्रोसम्म क्रमशः शिशुको वृद्धिविकाससँगै नसाको पनि वृद्धिविकास हुँदै जाने गर्दछ्र तेस्रो र चौथो चरणमा पुग्दा लेजर वा इन्जेक्सन तथा अन्तिम चरणमा शल्यक्रियामार्फत उपचार गर्नुपर्ने हुन्छ ।
शिशुको दायाँ आँखाको आरओपी समस्याको लेजर प्रविधिमार्फत उपचार गरिएको थियो । भने यसको २० दिनपछि मात्र बायाँ आँखाको जटिल शल्यक्रिया एलएसभी गरिएको हो । विगतमा यस्तो आँखाको उपचार गर्न भारत जानुपर्ने अवस्था थियो । तर नेपाल आँखा अस्पतालले यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो जसमा सफलता पाएको छ।