काठमाडौँ। इच्छाशक्ति भएमा अपाङ्गता भएर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण भोजपुरका दुई बालबालिका बनेका छन् ।
उनिहरु जन्मजात नै बोल्न र सुन्न सक्दैनन् । प्राकृतिकरुपमा श्रवण क्षमता नभए पनि उनीहरुको जोश जाँगर अरुकोभन्दा कम छैन । सदरमुकाममा सञ्चालनमा रहेको भोजपुर बहिरा आवासीय विद्यालयमा कक्षा ३ मा अध्ययनरत नौ वर्षीया कौशिका ल्वागुन र ११ वर्षका दालाक्पा शेर्पा आफ्नो प्रतिभा पहिचानका लागि अहिले पूर्वाञ्चल गट ट्यालेन्ट प्रतियोगिता र भोजपुर गट ट्यालेन्ट गायन तथा नृत्य प्रतियोगितामा प्रतिस्पर्धामा छन। अरुले भनेको र बोलेको सुन्न नसक्ने उनिहरु विद्यालयमा कार्यरत विशेष शिक्षक सन्तकुमार तुम्वापोको हौसलाले प्रतिस्पर्धामा उत्रिएका हुन ।
भोजपुरको षडानन्द नगरपालिका घर भएकी कौशिका भोजपुर गट ट्यालेन्ट प्रतियोगिताअन्तर्गत भएको प्रि फाइनल चरणबाट फाइनलमा प्रवेश गरेको छ भने दालाक्पा पनि पूर्वाञ्चल गट ट्यालेन्टका लागि फाइनल प्रवेश गरेको छ ।
जन्मजात नै बोल्न र सुन्न नसक्ने उहाँहरु विद्यालयमा पनि पढाइका अलावा अन्य क्रियाकलापमा सक्रिय रहेको विद्यालयले जनाएको छ । जो बोल्न र सुन्न सक्दैनन् उनीहरुलाई नाच सिकाएर प्रतिभाशाली बनाउने शिक्षक शन्तकुमार पनि जिल्लामा नमूना बनेका छन । कार्यक्रममा गीत बज्न थालेपछि उनको इशारामा कौशिका र दालाक्पाले आफनो प्रतिभा देखाउने गरेका छन ।