काठमाडौँ । स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ जना स्वास्थ्यकर्मीहरुलाई पुरस्कृत गरेको छ ।
हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइने गरिन्छ । दिवसका अवसरमा मन्त्रालयले उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार र स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेको छ ।
मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा दार्चुला अस्पतालकी अनमी बबिता विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी सुर्खेत अस्पतालका डा केशर वहादुर ढकाल , फार्मेसी निरिक्षक सुश्मा थपलिया , कालिकोटका सिअहेव दीर्घ वहादुर नेपाली र बाराकी सिअनमी किरण कुमारीलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ ।
कार्यसम्पादन मूल्याङ्कन, कार्यदक्षता र दुर्गम क्षेत्रमा पुऱ्याएको सेवासहित उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
स्वास्थ्य मन्त्रालयले यस वर्ष पनि ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा-निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराा साथ यस वर्ष स्वास्थ्य सेवा दिवस मनाएको छ ।