१६ फागुन, काठमाडौं । विभिन्न ६ बुँदे माग राख्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले पुन: सत्याग्रह गर्ने चेतावनी दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गरी उनले आफूसँग विगतमा भएका सहमति कार्यान्वयन, मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारका साथै संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा ६ बुँदे माग सार्वजनिक गरेका छन् ।
यस्ता छन् डा.केसीका मागहरु:
१.सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता पारिएका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्याइयोस्।
२. भेला हुने र प्रदर्शन गर्न पाउने संविधान प्रदत्त नागरिक अधिकार तत्काल फिर्ता गरियोस्।
३. यसअघि भएका सम्झौताहरू कार्यान्वयन गरियोस्।
- हामीसित सम्झौता भएबमोजिम गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याइयोस्। चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याइयोस्। जनसंख्या र भौगोलिक अवस्थिति अनुसार यस अगाडि इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेजहरू खोलियोस्।
- १०० शय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम हरु सुरु गरियोस्। विश्वविद्यालय र प्रतिष्ठानहरूमा राजनीतिक भागबन्डाको अन्त गरी योग्यताका आधारमा पदाधिकारी नियुक्ति गर्नका लागि मापदण्डसहित उच्च शिक्षा ऐन तत्काल जारी गरियोस्।
- एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गरियोस्। सरकारी अस्पतालहरुमा आवश्यक दरबन्दी थप गरियोस्।
५ .औषधि उपचार निःशुल्क गरियोस्।
६. निजी क्षेत्रबाट सञ्चालित अस्पताल, शिक्षण अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक संस्थामा कार्यरत डाक्टर र नर्स लगायत सबै तहका स्वास्थ्य कर्मीको न्यूनतम तलब-सुविधा सरकारी संस्थामा कार्यरत डाक्टर र नर्स लगायतका स्वास्थ्यकर्मी सरह गर्न विधेयक बनाई लागू गरियोस्।