दाङ । घोराहीको बुद्ध इन्टरनेसनल अस्पतालमा नौ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भए पछि अस्पताल २ दिनदेखि तनावग्रस्त रहेको छ।
राजपुर गाउँपालिका–१ पटौली नाकाका सुरेश कावरको उपचारका क्रममा मृत्यु भएको विषयमा छानबिन गर्न समिति गठन भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय, सर्वपक्षीय बैठकबाट घटनाबारे सत्यतथ्य पत्ता लगाउन लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको हो । छानबिन समितिमा नाक, कान, घाँटी रोग विशेषज्ञ तीन जना, जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका र पीडित पक्षका एक र एक प्रतिनिधि सदस्य छन् ।
घाँटीको देब्रे भागमा सुन्निएको अवस्थामा उपचारका लागि बुधबार घोराही आएका बालकको चिकित्सककै लापरबाहीका कारण मृत्यु भएको आफन्तको आरोप छ । बालककी आमा र एक आफन्तका अगाडि कुनै पनि परीक्षण नगरी पिप जमेको छ भन्दै चिकित्सकले सिरिन्ज रोपेर पिप नआएपछि लापरबाही तरिकाले सिरिन्ज घुमाएको उनीहरू बताउँछन् । बालकको नाक र मुखबाट अत्यधिक रगत गएपछि मृत्यु भएको आफन्तको भनाइ छ ।
डाक्टरको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले अस्पताल घेराउ गरी तोडफोड पनि गरेका छन् । उक्त घटनाबारे छानबिन गर्न समिति गठन भएको छ ।