नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले लुप्त अवस्थामा रहेका क्षयरोगीहरूको पहिचान गर्न खोजपडताल गर्ने भएको छ ।
स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले वडा वडामा क्षयरोगी पहिचान गर्न स्वयंसेवक खटाइने बताए । २३ वटै वडामा एक एक जना स्वयंसेवक छनौट गरेर बस्ती बस्तीमा परिचालन गरिनेछ । नेपालगन्जलाई क्षयरोगमुक्त पालिका घोषणा गर्नका लागि जनप्रतिनिधिहरूलाई अभिमुखीकरण तथा पालिकास्तरीय समिति गठन कार्यक्रममा चन्दले यसपछि वडा वडामा वडास्तरीय समिति बनाएर क्षयरोगमुक्त घोषणा अभियान सञ्चालन गर्ने जानकारी दिए । क्षयरोग अन्त्य गर्ने लक्ष्य हासिल गर्न समुदायमा रहेका सम्भावित क्षयरोगका बिरामीहरूको द्रुत पहिचान, रोकथाम, निदान र उपचारको लागि क्षयरोगमुक्त पालिका पहल कार्यक्रम सञ्चालन गरिएको छ ।
बाँकेमा ५३९ क्षयरोगी थपिएका छन् । जसमा नेपालगञ्ज उपमहानगरपालिकाका १८० जना छन् । नेपालगञ्जमा ४०४ जना क्षयरोगी रहेको अनुमान गरिए पनि १८० मात्र फेला परेका हुन् । जुन ४४ प्रतिशत मात्र हो । चन्दका अनुसार अन्य ५६ प्रतिशत बिरामी खोज्न अभियान चलाउन थालिएको हो । गत बर्ष नेपालगञ्ज उपमहानगरपालिकामा ३६१ जना क्षयरोगी फेला परेका थिए ।
कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताए । उनले नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ, अन्यथा यो घातक रोग हो भन्ने बुझाई सबैमा हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नगर उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
नेपालबाट सन् २०५० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य छ भने सन् २०३५ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य निर्धारण गरिएको छ । नेपालमा क्षयरोगबाट हुने मृत्युदर ३ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशमा ३.३ र बाँकेमा २.८ प्रतिशत क्षयरोगबाट हुने मृत्युदर रहेको तथ्याङ्क छ ।