काठमाडौं। स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १० औं राष्ट्रिय शिखर सम्मेलन आजदेखि सुरु हुँदै।
“दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन”भन्ने नाराका साथ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आजदेखि तीन दिन सम्म काठमाडौंको बौद्धस्थित होटल ह्यात रिसिडेन्सीमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १० औं राष्ट्रिय शिखर सम्मेलन आयोजना गरेको छ ।
परिषद्ले आफ्नो स्थापनाको उपलक्ष्यमा प्रत्येक वर्ष स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन गर्दै आइरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्द्दाटन हुने सम्मेलनमा देश तथा विदेशबाट एक हजारभन्दा बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येताहरुको सहभागिता रहने परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले बताए।
तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने छ । सम्मेलनमा प्रत्येक दिन स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानका विभिन्न विषयमाथि सामूहिक छलफल समेत हुने छन् । नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्य लगायतका १५ वटा भन्दा बढी विषयमा सामूहिक छलफल हुने छ ।