काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजना तीन दिनसम्म सञ्चालन भएको १० औँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलनले ६ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।
एक हजार भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय विश्वविद्यालय, विभिन्न संस्था तथा सरकारका प्रतिनिधि वैज्ञानिकहरुको सहभागितामा दिगो विकासका लक्ष्य प्राप्तिको लागि स्वास्थ्य तथा जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन भन्ने नाराका साथ तथ्य तथ्यांकमा आधारित नीति, योजना र कार्यक्रम निर्माण गर्ने संस्कारको निरन्तर विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो शिखर सम्मेलन निम्न घोषणाहरु सहित सम्पन्न भयो ।
१. स्वास्थ्य तथा जनसंख्या सम्बन्धी अनुसन्धान प्रणाली तथा यसको आचारसंहिताको कार्यान्वयनलाई थप बलियो र प्रभावकारी, मर्यादित तथा नागरिक प्रति जिम्मेवार र राष्ट्रिय प्राथमिकतामा आधारित रहेको सुनिश्चितता गर्न सबैमा आव्हान गर्दछौं ।
२. अनुसन्धानबाट प्राप्त स्वास्थ्य तथा जनसंख्या सम्बन्धी तथ्यतथ्यांकहरु र तीनको स्वास्थ्य नीति, योजना र कार्यक्रममा प्रभावकारी प्रयोग हुनुपर्ने कुरामा हामी सहमत छौं र यसको निरन्तर पैरवी र कार्यान्वयनको लागि आव्हान गर्दछौं ।
३. स्वास्थ्यका वृहत निर्धारकलाई सम्बोधन गर्न, जनस्वास्थ्य, समाज विज्ञान, चिकित्सा तथा जीव विज्ञान, वातावरण विज्ञान र प्रविधि जस्ता विषय क्षेत्र समेटेर बहुपक्षीय र अन्तरनिकाय अनुसन्धानहरु गर्नुपर्ने विषयमा प्रतिवद्ध छौं र प्राथमिकतामा राख्न सरोकारवालाहरुलाई आव्हान गर्दछौं ।
४. गुणस्तरीय स्वास्थ्य सेवा प्राप्तिमा समान पहुँच पुर्याउन कसैलाई पनि आर्थिक भार नपर्ने किसिमको वित्तिय प्रणालीको विकास र कार्यान्वयन हुने अवस्था सिर्जना गर्न आवश्यक वातावरण तयार गर्न आव्हान गर्दछौं ।
५. जलवायु परिवर्तन र यसले स्वास्थ्य तथा वातावरणमा पार्ने प्रतिकूल असरलाई तत्काल सम्बोधन गर्न सम्बन्धित सबैलाई सक्रिय सहभागी बन्न अनुरोध गर्दछौँ ।
६. अनुसन्धानका विभिन्न क्षेत्रहरु जस्तै जनस्वास्थ्य, चिकित्सा, डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्राथमिकताका राख्न हामी सबै प्रतिवद्ध छौं ।