काठमाडौं । चौधरी ग्रुप (सीजी) ले उत्पादन गर्ने वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएको छ ।
काठमाडौं महानगरपालिकाको बजार अनुमगन समितिले गरेको अनुगमन पछिको परीक्षणबाट वाईवाईमा गुणस्तर नभएको पुष्टि भएको महानगरले जनाएको छ । गुणस्तर परिक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना तिराउँदै उक्त लटका चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
चाउचाउमा अस्वाभाविक ढुसी देखिएपछि चाउचाउका प्याकेट बजारबाट ल्याएर जेस्ट ल्याब्रोटरीमा परीक्षणको लागि पठाएको थियो । ‘परीक्षणमा चाउचाउमा एसिड भ्यालु अधिक देखिएको थियो । खैरो रङको चाउचाउमा गाढा खैरो र काला धब्बा देखिएको प्रतिवेदनमा उल्लेख भएको महानगरले जनाएको छ । रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३।९३४ एमजी देखिएको छ । यसको भ्यालु १ एमजी भन्दा बढी हुनु हुँदैन ।
खाद्य प्राविधिक अनिल बस्नेतका अनुसार यसो हुनु भनेको निम्न गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने तेलको गुणस्तर नभएको भन्ने हो । यसको निरन्तर प्रयोग गर्दा क्यान्सर लगायत घातक रोग देखाउन सक्ने खाद्य प्राविधिक बस्नेतले जानकारी दिए । यस खालको गुणस्तरहीन चाउचाउ खानाले स्वास्थ्यमा विभिन्न रोग लाग्ने चिकित्सकहरुको भनाइ छ ।