काठमाडौं । ‘स्वस्थ नेपाल निर्माणको अग्रसरता : सरकारी, सामुदायिक र निजी क्षेत्र सबैको सहभागिता’ भन्ने मूल नारासहित काठमाडौंमा यही वैशाख ३१ गते नेपाल स्वास्थ्य सम्मेलन हुने भएको छ ।
सम्मेलनबारे जानकारी दिन आयोजित एक पत्रकार सम्मेलनमा सम्मेलन प्रमुख विशाल घोषले स्वास्थ्य क्षेत्रका सम्पूर्ण विषयवस्तुमा खुला छलफल गर्ने साझा मञ्चको रुपमा स्वास्थ्य सम्मेलन रहेको बताए । सम्मेलनले स्वास्थ्य क्षेत्रका चुनौती र आवश्यकताको पहिचानसहित परिपूर्तिको आधारलाई पहिल्याउँदै भविष्यको मार्गचित्र तयार पार्ने जनाइएको छ ।
सम्मेलनमा मौलिक जीवनशैलीमा स्वास्थ्यको परिदृष्य र पर्यटनको अवसर, जलवायु परिवर्तनका कारण दबाबमा जनस्वास्थ्य, स्वास्थ्य बिमा कार्यक्रमको चुनौती र अवसर, नसर्ने रोगको जोखिमविरुद्ध रणनीतिलगायतका ६ वटा विषयमा बहस हुने घोषले बताए । स्वास्थ्य सरोकारवालाहरुबीच समन्वय, सहजीकरण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहिलो सम्मेलन सार्थक रह्यो उनको भनाई छ । यही अनुभव र आवश्यकतालाई आत्मसात गर्दै नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण आयोजना गर्न लागेको उनले बताए ।
नेपाल स्वास्थ्य सम्मेलनको पहिलो संस्करण २०७७ चैतमा गरिएको थियो । सञ्चारकर्मीहरुको समूह त्रिकल प्रोडक्सनको आयोजनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, कान्तिपुर मिडिया ग्रुपलगायत निकायको सहजीकरणमा नेपाल स्वास्थ्य सम्मेलन हुन लागेको हो ।